उद्देश्य
दुई दलीय बिरुवाको डाँठको चाना (T.S.) को अस्थायी स्लाइड तयार गरी सूक्ष्मदर्शकको सहायताले विभिन्न वनस्पति तन्तुहरू, जस्तै परेन्काइमा, कोलेन्काइमा, स्क्लेरेन्काइमा, जाइलम र फ्लोएम आदिको अवलोकन तथा पहिचान गर्नु।
आवश्यक सामग्री
दुई दलीय बिरुवाको नरम डाँठ, धारिलो ब्लेड, सूक्ष्मदर्शक, स्लाइड, कभर स्लिप, ड्रपर, सुई/ब्रस, ग्लिसिरिन, पानी, सेफ्रानिन वा आयोडिन जस्ता रङद्रव्य, टिस्यु पेपर/ब्लटिङ पेपर
सिद्धान्त
बिरुवाको शरीर विभिन्न प्रकारका तन्तुहरूबाट बनेको हुन्छ। तन्तु समान उत्पत्ति र समान कार्य गर्ने कोषिकाहरूको समूह हो।
वनस्पति तन्तु मुख्यतः दुई प्रकारका हुन्छन्:
१. मेरिस्टमेटिक तन्तु (Meristematic tissue):
यसका कोषिकाहरू निरन्तर विभाजन गर्न सक्ने हुन्छन्। यसले बिरुवाको वृद्धि गराउँछ। Apical, Lateral र Intercalary यसका प्रमुख प्रकार हुन्।
२. स्थायी तन्तु (Permanent tissue):
विभाजन गर्ने क्षमता गुमाएका कोषिकाहरूबाट बनेका तन्तुलाई स्थायी तन्तु भनिन्छ। यसअन्तर्गत सरल , जटिल र विशिष्ट स्थायी तन्तुहरू पर्दछन्।
सरल स्थायी तन्तुमा परेन्काइमा, कोलेन्काइमा र स्क्लेरेन्काइमा पर्छन् भने जटिल स्थायी तन्तुमा जाइलम र फ्लोएम पर्छन्।
विधि
- दुई दलीय बिरुवाको ताजा र नरम डाँठ लिने।
- डाँठलाई सफा पानीले पखाल्ने।
- धारिलो ब्लेडको सहायताले डाँठको धेरै पातलो चाना (T.S.) बनाउने।
- प्राप्त चानाहरूमध्ये सबैभन्दा पातलो र पारदर्शी चाना छान्ने।
- सफा स्लाइडमा एक थोपा ग्लिसिरिन राख्ने।
- छानिएको चानालाई ग्लिसिरिनमा राख्ने।
- काटलाई सेफ्रानिनले हल्का रङ्गाउने।
- सुई वा ब्रसको सहायताले काटलाई ठीक ठाउँमा मिलाउने।
- कभर स्लिपलाई एक छेउबाट बिस्तारै राख्ने।
- अतिरिक्त पानीलाई ब्लटिङ पेपरले सोस्ने।
- तयार स्लाइडलाई सूक्ष्मदर्शकमा राख्ने।
- पहिले कम शक्तिको लेन्स र त्यसपछि उच्च शक्तिको लेन्सबाट अवलोकन गर्ने।
- देखिएका विभिन्न तन्तुहरू पहिचान गरी चित्रमा नामाङ्कन गर्ने।
अवलोकन
सूक्ष्मदर्शकबाट दुई दलीय डाँठको क्रस सेक्सन हेर्दा निम्न तन्तुहरू पहिचान गर्न सकिन्छ:
| तन्तु | पहिचानका मुख्य विशेषता | मुख्य कार्य |
| परेन्काइमा (Parenchyma) | जीवित, पातलो भित्तायुक्त कोष; अन्तरकोषिकीय खाली स्थान हुन सक्छ | खाना सञ्चय तथा प्रकाश संश्लेषण |
| कोलेन्काइमा (Collenchyma) | जीवित कोष; कुनामा असमान रूपमा बाक्लो कोष भित्त | यान्त्रिक सहारा र लचकता |
| स्क्लेरेन्काइमा (Sclerenchyma) | मृत, बाक्लो र लिग्निन युक्त भित्त भएका कोषिका | मजबुती तथा यान्त्रिक सहारा |
| जाइलम (Xylem) | ट्राकिड, भेसल आदि पाइन्छन्; प्रायः बाक्लो र लिग्निनयुक्त भित्त | पानी तथा खनिज पदार्थको संवहन |
| फ्लोएम (Phloem) | सिभ ट्युब, कम्प्यानियन सेल आदि पाइन्छन् | तयार भोजनको संवहन |
परिणाम/ नतिजा
दुई दलीय बिरुवाको डाँठको क्रस सेक्सनको अस्थायी स्लाइड तयार गरी सूक्ष्मदर्शकबाट अवलोकन गर्दा विभिन्न वनस्पति तन्तुहरू पहिचान गर्न सकियो। तीमध्ये परेन्काइमा, कोलेन्काइमा, स्क्लेरेन्काइमा, जाइलम र फ्लोएम जस्ता तन्तुहरूका संरचनात्मक विशेषताहरू अवलोकन गरियो।
सावधानीहरू
- ब्लेड प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।
- डाँठको अत्यन्त पातलो र सफा चाना बनाउनुपर्छ।
- स्लाइड र कभर स्लिप सफा हुनुपर्छ।
- कभर स्लिप राख्दा हावाका फोका बन्न दिनु हुँदैन।
- चानालाई धेरै रङ्गाउनु हुँदैन।
- सूक्ष्मदर्शकमा सुरुमा कम शक्तिको लेन्स प्रयोग गर्नुपर्छ।
- सूक्ष्मदर्शकको लेन्सलाई स्लाइडसँग ठोक्किन दिनु हुँदैन।
- प्रयोगपछि सूक्ष्मदर्शक तथा अन्य सामग्री सफा गरी सुरक्षित राख्नुपर्छ।
निष्कर्ष
यस प्रयोगबाट दुई दलीय बिरुवाको डाँठमा पाइने विभिन्न वनस्पति तन्तुहरूको संरचना र कार्यबारे जानकारी प्राप्त भयो। जाइलमले पानी तथा खनिज पदार्थ र फ्लोएमले तयार खाना संवहन गर्ने तथा परेन्काइमा, कोलेन्काइमा र स्क्लेरेन्काइमा क्रमशः सञ्चय, लचकता तथा यान्त्रिक सहारामा महत्वपूर्ण भूमिका खेल्ने कुरा अध्ययन गरियो।
https://drive.google.com/uc?id=1Q3Iid1HTqDDyJVWTOojo8A6vg6G0MrLj
