दुई दलीय बिरुवाको डाँठको क्रस सेक्सनको अस्थायी स्लाइड तयार गरी विभिन्न वनस्पति तन्तुहरूको अवलोकन गर्ने।

उद्देश्य

दुई दलीय बिरुवाको डाँठको चाना (T.S.) को अस्थायी स्लाइड तयार गरी सूक्ष्मदर्शकको सहायताले विभिन्न वनस्पति तन्तुहरू, जस्तै परेन्काइमा, कोलेन्काइमा, स्क्लेरेन्काइमा, जाइलम र फ्लोएम आदिको अवलोकन तथा पहिचान गर्नु।

आवश्यक सामग्री

दुई दलीय बिरुवाको नरम डाँठ, धारिलो ब्लेड, सूक्ष्मदर्शक, स्लाइड, कभर स्लिप, ड्रपर, सुई/ब्रस, ग्लिसिरिन, पानी, सेफ्रानिन वा आयोडिन जस्ता रङद्रव्य, टिस्यु पेपर/ब्लटिङ पेपर

सिद्धान्त

बिरुवाको शरीर विभिन्न प्रकारका तन्तुहरूबाट बनेको हुन्छ। तन्तु समान उत्पत्ति र समान कार्य गर्ने कोषिकाहरूको समूह हो।

वनस्पति तन्तु मुख्यतः दुई प्रकारका हुन्छन्:

१. मेरिस्टमेटिक तन्तु (Meristematic tissue):
यसका कोषिकाहरू निरन्तर विभाजन गर्न सक्ने हुन्छन्। यसले बिरुवाको वृद्धि गराउँछ। Apical, Lateral र Intercalary यसका प्रमुख प्रकार हुन्।

२. स्थायी तन्तु (Permanent tissue):
विभाजन गर्ने क्षमता गुमाएका कोषिकाहरूबाट बनेका तन्तुलाई स्थायी तन्तु भनिन्छ। यसअन्तर्गत सरल , जटिल र विशिष्ट स्थायी तन्तुहरू पर्दछन्।

सरल स्थायी तन्तुमा परेन्काइमा, कोलेन्काइमा र स्क्लेरेन्काइमा पर्छन् भने जटिल स्थायी तन्तुमा जाइलम र फ्लोएम पर्छन्।

विधि

  1. दुई दलीय बिरुवाको ताजा र नरम डाँठ लिने।
  2. डाँठलाई सफा पानीले पखाल्ने।
  3. धारिलो ब्लेडको सहायताले डाँठको धेरै पातलो चाना (T.S.) बनाउने।
  4. प्राप्त चानाहरूमध्ये सबैभन्दा पातलो र पारदर्शी चाना छान्ने।
  5. सफा स्लाइडमा एक थोपा ग्लिसिरिन राख्ने।
  6. छानिएको चानालाई ग्लिसिरिनमा राख्ने।
  7. काटलाई सेफ्रानिनले हल्का रङ्गाउने।
  8. सुई वा ब्रसको सहायताले काटलाई ठीक ठाउँमा मिलाउने।
  9. कभर स्लिपलाई एक छेउबाट बिस्तारै राख्ने।
  10. अतिरिक्त पानीलाई ब्लटिङ पेपरले सोस्ने।
  11. तयार स्लाइडलाई सूक्ष्मदर्शकमा राख्ने।
  12. पहिले कम शक्तिको लेन्स र त्यसपछि उच्च शक्तिको लेन्सबाट अवलोकन गर्ने।
  13. देखिएका विभिन्न तन्तुहरू पहिचान गरी चित्रमा नामाङ्कन गर्ने।

अवलोकन

सूक्ष्मदर्शकबाट दुई दलीय डाँठको क्रस सेक्सन हेर्दा निम्न तन्तुहरू पहिचान गर्न सकिन्छ:

तन्तुपहिचानका मुख्य विशेषतामुख्य कार्य
परेन्काइमा (Parenchyma)जीवित, पातलो भित्तायुक्त कोष; अन्तरकोषिकीय खाली स्थान हुन सक्छखाना सञ्चय तथा प्रकाश संश्लेषण
कोलेन्काइमा (Collenchyma)जीवित कोष; कुनामा असमान रूपमा बाक्लो कोष भित्तयान्त्रिक सहारा र लचकता
स्क्लेरेन्काइमा (Sclerenchyma)मृत, बाक्लो र लिग्निन युक्त भित्त भएका कोषिकामजबुती तथा यान्त्रिक सहारा
जाइलम (Xylem)ट्राकिड, भेसल आदि पाइन्छन्; प्रायः बाक्लो र लिग्निनयुक्त भित्तपानी तथा खनिज पदार्थको संवहन
फ्लोएम (Phloem)सिभ ट्युब, कम्प्यानियन सेल आदि पाइन्छन्तयार भोजनको संवहन

परिणाम/ नतिजा

दुई दलीय बिरुवाको डाँठको क्रस सेक्सनको अस्थायी स्लाइड तयार गरी सूक्ष्मदर्शकबाट अवलोकन गर्दा विभिन्न वनस्पति तन्तुहरू पहिचान गर्न सकियो। तीमध्ये परेन्काइमा, कोलेन्काइमा, स्क्लेरेन्काइमा, जाइलम र फ्लोएम जस्ता तन्तुहरूका संरचनात्मक विशेषताहरू अवलोकन गरियो।

सावधानीहरू

  1. ब्लेड प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।
  2. डाँठको अत्यन्त पातलो र सफा चाना बनाउनुपर्छ।
  3. स्लाइड र कभर स्लिप सफा हुनुपर्छ।
  4. कभर स्लिप राख्दा हावाका फोका बन्न दिनु हुँदैन।
  5. चानालाई धेरै रङ्गाउनु हुँदैन।
  6. सूक्ष्मदर्शकमा सुरुमा कम शक्तिको लेन्स प्रयोग गर्नुपर्छ।
  7. सूक्ष्मदर्शकको लेन्सलाई स्लाइडसँग ठोक्किन दिनु हुँदैन।
  8. प्रयोगपछि सूक्ष्मदर्शक तथा अन्य सामग्री सफा गरी सुरक्षित राख्नुपर्छ।

निष्कर्ष

यस प्रयोगबाट दुई दलीय बिरुवाको डाँठमा पाइने विभिन्न वनस्पति तन्तुहरूको संरचना र कार्यबारे जानकारी प्राप्त भयो। जाइलमले पानी तथा खनिज पदार्थ र फ्लोएमले तयार खाना संवहन गर्ने तथा परेन्काइमा, कोलेन्काइमा र स्क्लेरेन्काइमा क्रमशः सञ्चय, लचकता तथा यान्त्रिक सहारामा महत्वपूर्ण भूमिका खेल्ने कुरा अध्ययन गरियो।

https://drive.google.com/uc?id=1Q3Iid1HTqDDyJVWTOojo8A6vg6G0MrLj

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top